काठमाडौं । युक्रेन युद्ध सुरु भएदेखि हालसम्म करिब ५ लाख रुसी सैनिकको मृत्यु भएको हुन सक्ने अनुमान बेलायतको प्रमुख गुप्तचर निकाय गभर्मेन्ट कम्युनिकेशन्स हेडक्वार्टर (जीसीएचक्यू)ले गरेको छ।
जीसीएचक्यू की निर्देशक एनी केस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा उक्त तथ्याङ्क प्रस्तुत गर्दै सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेयता ठूलो मानवीय क्षति भएको संकेत गरेकी हुन् । उनले बेलायत र उसका साझेदार मुलुकहरुलाई लक्षित गर्दै साइबर आक्रमण, जासुसी गतिविधि र हाइब्रिड युद्ध बढिरहेको चेतावनी पनि दिइन् ।
उनका अनुसार रुसले युक्रेन युद्धसँगै पश्चिमी मुलुकहरुको महत्वपूर्ण पूर्वाधार, लोकतान्त्रिक प्रक्रिया, आपूर्ति प्रणाली र जनविश्वासलाई निशाना बनाइरहेको छ। यद्यपि, मस्कोले यस्ता आरोपहरु अस्वीकार गर्दै आएको छ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनतर्फ करिब ५५ हजार सैनिकको मृत्यु भएको बताएका थिए। त्यस्तै, बीबीसी न्यूज रुसियन तथा स्वतन्त्र अनुसन्धान समूहहरुले विभिन्न स्रोतहरुको आधारमा २ लाख २३ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु पुष्टि भएको विवरण संकलन गरेका छन् ।
जीसीएचक्यू प्रमुखका अनुसार रुस र चीन दुवैले आफ्नो सैन्य तथा साइबर क्षमता तीव्र रुपमा विस्तार गरिरहेका छन् । उनले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको तीव्र विकासका कारण पश्चिमी मुलुकहरुको प्राविधिक अग्रता जोगाउन समय सीमित हुँदै गएको पनि चेतावनी दिइन् ।
विश्लेषकहरुका अनुसार युक्रेन युद्ध अझै लामो समयसम्म चलिरहने सम्भावना छ, जसले विश्व सुरक्षा र भू–राजनीतिक सन्तुलनमा थप दबाब सिर्जना गर्न सक्छ।


