CLI

लेबनानमा सैन्य अभियान विस्तार गर्न नेतान्याहुको आदेश, मध्यपूर्वमा तनाव थप चर्कियो

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्न इजरायली सेनालाई निर्देशन दिएका छन्। रणनीतिक महत्वको ब्यूफोर्ट किल्ला कब्जा गरेपछि उनले सेनालाई थप अगाडि बढ्न आदेश दिएको बताएका हुन्।

लेबनानी प्रधानमन्त्री नवाफ सलामले इजरायलले “भूमि जलाउने नीति” अपनाएको आरोप लगाउँदै यसले नागरिक जीवन र पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको बताएका छन् । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई तथा स्थल आक्रमण जारी रहँदा हजारौं सर्वसाधारण विस्थापित भएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली सैन्य कारबाहीमा कम्तीमा ३ हजार ४ सय १२ जनाको मृत्यु भएको छ भने १० हजार २ सय ६९ भन्दा बढी घाइते भएका छन् । आइतबार बिहान नाबाटिये जिल्लाको डेर जहरानी क्षेत्रमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको बताइएको छ, जसमा तीन महिला पनि रहेका छन् ।

यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इरानबीच सन्देश आदानप्रदान जारी रहेको भए पनि अन्तिम सहमति नभएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन् ।  इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म अमेरिकासँग कुनै सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथले वार्ता असफल भएमा इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न अमेरिका तयार रहेको चेतावनी दिएका छन्।

यसैबीच, हिज्बुल्लाहले ड्रोन तथा रकेटमार्फत इजरायली लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ भने इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका केही मिसाइलहरू अवरोध गरेको जनाएको छ।

अरब लीग, कतार, बेलायत तथा जर्मनीले लेबनानमा इजरायलको सैन्य विस्तारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन् । क्षेत्रीय तनाव बढ्दै जाँदा विश्व ऊर्जा बजार पनि प्रभावित भएको छ । लेबनानमा सैन्य कारबाही विस्तारको समाचारपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Leave Your Comment

Related News