CLI

सानिगाड हाइड्रोको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ८५ करोडको ३० प्रतिशत अर्थात् ८५ करोड रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ८५ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।

५ लाख ७० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, २ लाख ८५ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।

यो निष्कासन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

सानिगाड हाइड्रोलाई क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले “[ICRANP-IR] BB reaffirmed [ICRA NP Issuer Rating BB-]” प्रमाणपत्र प्रादन गरेको छ । “ICRA NEPAL Issuer Rating BB – ” ले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको मध्यम जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने बुझिन्छ ।

कति कित्ताका लागि दिने आवेदन ?

सानिगाड हाइड्रो लिमिटेडको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ४ लाख ६७ हजार ४०० जनाले मात्र सेयर हात पार्नेछन् ।यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।


आयोजना सम्बन्धी विवरण

सानिगाड हाइड्रो लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ पौष ५ गते नेपाल सरकार, कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७८ आषाढ ३० गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ०३, धोविघाटमा रहेको छ । यस सानिगाड हाइड्रो लिमिटेड कम्पनीले प्रवर्धन गरेको माथिल्लो कालंगागाड जलविद्युत आयोजना (३८.४६ मे. वा.) को उत्पादन केन्द्र (पावर हाउस) बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ४ मा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

सानिगाड हाइड्रो लिमिटेड निजी क्षेत्रका उद्यमीहरुको पहलमा २०६४ साल पुस ५ गते प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७८ असार ३० गते पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । त्यसपछि २०७८ माघ २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार सञ्चालनको स्वीकृति प्राप्त गर्दै कम्पनीले औपचारिक रुपमा व्यावसायिक गतिविधि सुरु गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय ललितपुर महानगरपालिका–३, धोबिघाटमा रहेको छ।

कम्पनीले बझाङ जिल्लाको बुंगल नगरपालिका क्षेत्र हुँदै बग्ने कालंगागाड र दारिमगाड खोलाको जलस्रोत उपयोग गरी ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरेको छ । उक्त आयोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग २०७२ असार १५ गते विद्युत खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको छ, जुन Take or Pay प्रावधानमा आधारित छ।

ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागले २०७२ साल फागुन २६ गते आयोजना निर्माण तथा सञ्चालनका लागि विद्युत उत्पादन अनुमति प्रदान गरेको हो, जसको अवधि २१०७ साल फागुन १३ गतेसम्म रहनेछ । सो अवधिपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने व्यवस्था रहेको छ।

आयोजना २०७९ माघ ६ गतेदेखि व्यावसायिक उत्पादनमा प्रवेश गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको कुल लागत करिब ८ अर्ब ६८.७० करोड रहेको छ भने प्रति मेगावाट लागत करिब २२.५८ करोड रुपैयाँ परेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष रहेको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्ध-पत्र तथा नियमावलीमा भएको व्यवस्था भए अनुसार आयोजना प्रभावित क्षेत्रस्थानिय वासिन्दाहरुको निमित्त सेयर निष्काशन गरी बिक्री वितरण गर्नका लागि आइपीओ जारी गर्न लागेको हो । साथै, कम्पनीको प्रबन्धपत्रमा भएको उद्देश्य प्राप्तिका लागि तथा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्नु धितोपत्र जारी गरेको हो ।

कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्ने, कम्पनीको प्रवन्ध-पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने, कार्यहरुको लागि आवश्यक पर्ने पूँजीको प्रबन्ध गर्ने, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन र निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः

आइपीओ बिक्रीबाट प्राप्त हुने रकमलाई कम्पनीले बैंक कर्जा रकम साँवा रकम चुक्ता भुक्तानीमा खर्च गर्ने भएको छ ।

वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी १ अर्ब ९९ करोड ५० लाख करोड रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब ८५ करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

यता, कम्पनीले चालु आर्थिक वर्षको पुससम्म १७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष भने कम्पनी ५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ३१ करोड ३२ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा कम्पनीले २१ करोड २० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको पुससम्मको प्रतिसेयर आम्दानी ८.६५ रुपैयाँ छ भने नेटवर्थ ११३.२२ रुपैयाँ छ । जगेडा कोषमा २६ करोड ३७ लाख रुपैयाँ छ ।

Leave Your Comment

Related News