काठमाडौं । स्याटेलाइट प्रविधिमा आधारित अन्तर्राष्ट्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’की निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा निर्देशक हन्टरले स्टारलिंकले नेपालमा आफ्नो उच्च गतिको इन्टरनेट सेवा सञ्चालन गर्न उत्सुक रहेको जानकारी गराइन। सो क्रममा उनले अनुमति लिने प्रक्रियामा रहेका केही नीतिगत तथा कानुनी जटिलताका कारण सेवा सुरु गर्न ढिलाइ भइरहेको बताइन।
लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व (१००% विदेशी स्वामित्व) रहने कानुनी व्यवस्था भएमा मात्र अनुमति लिन सहज हुने धारणा राख्दै उनले व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही स्थानीय सेवा प्रदायकहरुसँग समेत छलफल भइरहेको स्पष्ट पारिइन।
सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाको परिधिभित्र रही वैधानिक प्रक्रियाअनुरुप सेवा सञ्चालन गर्न आएमा सरकारका तर्फबाट कुनै अवरोध नहुने स्पष्ट पारे ।
सरकार सूचना प्रविधिको विकास र नयाँ प्रविधिलाई भित्र्याउन सकारात्मक रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रिया पूरा गरी अघि बढ्न स्टारलिंक टोलीलाई आग्रह गरेका छन्।


