काठमाडौं । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ।
“गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।
इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ।
इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताए।
इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताए।
यसैबिच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताए।
इरान र अमेरिकाबिच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेको थिएन।
बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए।
इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ।
आइतवार इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट रिज कब्जा गरेको दाबी गरेको छ जसमा मध्ययुगीन ब्यूफोर्ट महल इजरायलको नियन्त्रणमा गएको छ । यो इजरायलले लेबनानसँग युद्धविराम पछि कायम गरेको ‘सुरक्षा घेरा’ भन्दा बाहिरको क्षेत्र हो।
दुई दशकभन्दा बढी समयपछि लेबनानमा इजरायलको यो सबैभन्दा भित्री भागमा भएको आक्रमण हो । यस कदमलाई अरब जगतका साथै फ्रान्स, जर्मनी र बेलायतले निन्दा गरेका छन्।
यसअघि सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका थिए। काट्जले पछि दक्षिणी लेबनानको लितानी नदीको क्षेत्रलाई सैन्य नियन्त्रित क्षेत्रमा परिणत गर्ने र हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा आक्रमण जारी राख्ने वाचा गरेका थिए।


