CLI

एसेम्बल उद्योग थपिए सँगै ह्वात्तै बढ्यो एसेम्बलिङ गनुपर्ने सवारी साधन

काठमाडौं । नेपालमा सवारी साधन एसेम्बलिङ उद्योगहरुको संख्या बढेसँगै एसेम्बलिङ गनुपर्ने सवारी साधनको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म १ लाख ९७ हजार ४३ वटा यस्ता सवारी साधन आयात भएको  छ। यो संख्या गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा १ लाख १५ हजार ५४० वटा एसेम्बलिङ गनुपर्ने सवारी साधन आयात भएको भन्सार विभाग तथ्याङ्कले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा १ लाख ९७ हजार ४३ वटा एसेम्बलिङ गनुपर्ने  सवारी साधन आयात हुँदा २५ अर्ब ८४ करोड १२ लाख ९६ हजार रुपैयाँ लागत बाहिरिएको छ। यसबाट सरकारलाई २३ अर्ब ७६ करोड १ लाख ४५ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १४ अर्ब ५८ करोड ६० लाख ९७ हजार रुपैयाँ लागतमा १ लाख १५ हजार ५४० वटा एसेम्बलिङ गनुपर्ने   सवारी साधन आयात भएका थिए, जसबाट सरकारले १३ अर्ब २६ करोड २० लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ५० सीसीभन्दा माथि तर १२५ सीसीभन्दा बढी नभएको पिस्टन इन्जिनयुक्त अन-एसेम्बली मोटरसाइकलहरु सबैभन्दा धेरै आयात भएका छन्।

यस वर्ष यो रेन्जका मात्रै ५८ हजार ६१० वटा मोटरसाइकल आयात भएका छन्। गत वर्ष पनि सोही क्षमताका पिस्टन इन्जिनयुक्त  एसेम्बलिङ गनुपर्ने  मोटरसाइकलहरु नै सबैभन्दा बढी आयात भएका थिए।

नेपालमा एसेम्बलिङ गनुपर्ने सवारी साधनका पार्टपूर्जाहरुको आयात यसरी उल्लेख्य रुपमा बढ्नुको कारण स्वदेशमै सवारी साधन जडान गर्ने एसेम्बलिङ उद्योगहरु खुल्ने र सञ्चालनमा आउने क्रम तीव्र हुनु व्यवसायीहरु बताउछन् । उद्योग विभागको पछिल्लो विवरण अनुसार, विगत १ वर्षको छोटो अवधिमा मात्रै नेपालमा ९ वटा नयाँ र ठूला सवारी साधन एसेम्बलिङ उद्योगहरु आधिकारिक रुपमा दर्ता भएका छन्।

Leave Your Comment

Related News