CLI

काठमाडौंमा २७.५ किमि मेट्रो रेलको डीपीआर बनाउन अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आवेदन माग

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सरकारले अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूबाट आवेदन माग गरेको छ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले सार्वजनिक सूचना जारी गर्दै २७.५ किलोमिटर लामो रेलमार्गको डीपीआर तयारीका लागि अन्तर्राष्ट्रिय स्तरको ‘आशयपत्र’ (Expression of Interest) आह्वान गरेको जनाएको हो।

प्रस्तावित रेलमार्ग नारायणगोपाल चोकबाट सुरु भई चाबहिल, कोटेश्वर, सातदोबाटो र रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकमै पुग्ने चक्रपथ रुटमा सञ्चालन हुने गरी योजना बनाइएको छ। आयोजना अनुसार डीपीआर तयारीको सम्पूर्ण खर्च नेपाल सरकारले आफ्नै स्रोतबाट व्यहोर्नेछ।

आयोजनाले योग्य अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत आवेदन पेश गर्न आग्रह गरेको छ। इच्छुक कम्पनीहरूले आगामी जुन १५, २०२६ को दिउँसो १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

सूचनामा तोकिएको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टलाई आवेदन दिने अन्तिम मिति मानिने उल्लेख गरिएको छ।

लामो समयदेखि चर्चामा रहेको काठमाडौं मेट्रो रेल परियोजनालाई कार्यान्वयनतर्फ अघि बढाउने तयारीस्वरूप डीपीआर निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाको भनाइ छ।

Leave Your Comment

Related News