काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल) निरन्तर बढ्दै जाँदा वित्तीय जोखिम थप गहिरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ३ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ।
राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ वित्त कम्पनीसहित ५४ बैंक तथा वित्तीय संस्थाले कुल ५८ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये औसत ५.६० प्रतिशत अर्थात् ३ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय रहेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० अर्ब ५२ करोड रुपैयाँले बढी हो।
वाणिज्य बैंकमा सबैभन्दा धेरै निष्क्रिय कर्जा
चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ५२ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यसमध्ये ५.४१ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय बनेको छ। गत वर्षको तुलनामा यो रकम ३५ अर्ब ९२ करोड रुपैयाँले बढेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.०५ प्रतिशत रहेको थियो।
विकास बैंकमा पनि बढ्यो खराब कर्जा
विकास बैंकहरूले चैत मसान्तसम्म ५ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा ६.१३ प्रतिशत अर्थात् ३३ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय भएको छ। यो गत वर्षको तुलनामा ४ अर्ब ५६ करोड रुपैयाँले बढी हो।
अघिल्लो वर्ष सोही अवधिमा विकास बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.५६ प्रतिशत रहेको थियो।
फाइनान्स कम्पनीमा भने सुधार
फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जामा भने केही सुधार देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूले १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा १२.१९ प्रतिशत अर्थात् १३ अर्ब ५ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय रहेको छ।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँले कम हो। अघिल्लो वर्ष फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा अनुपात १३.०५ प्रतिशत थियो।


