काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको विवादास्पद अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान यथावत् रहेको बताएका छन्।
प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको भनाइको आशय स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको बताए। उनले प्रधानमन्त्री शाह स्वयं प्रतिनिधिसभाको रोष्ट्रममा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने माग गरे।
प्रधानमन्त्रीले यसअघि प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उक्त भनाइ संसद्को रेकर्डबाट हटाइनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे स्पष्टिकरण दिनुपर्ने विपक्षीहरूको माग छ।
यसैबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा सर्वदलीय बैठक हुनु सकारात्मक कदम भएको बताएका छन्।
उनले विवादित विषयमा भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै सहमति जुटाउन थप संवाद आवश्यक रहेको बताए। लामिछानेले संसद् नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल स्पष्ट रहेको बताउँदै सदनमा उठेका विषयमा आवश्यक स्पष्टता भने दिनुपर्ने धारणा राखे।
संसद्मा देखिएको गतिरोध अन्त्य गर्न सत्तापक्ष र विपक्षीबीच निरन्तर संवाद भइरहेका बेला विवादित अभिव्यक्तिका विषयमा सहमति खोज्ने प्रयास जारी रहेको छ।


