CLI

राष्ट्र बैंकको निर्देशन: विदेश जाने विद्यार्थीका लागि ५ प्रतिशतसम्म थप गरी  विदेशी मुद्रा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत नेपाली विद्यार्थीका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्था थप सहज बनाएको छ। एकीकृत परिपत्र–२०८२ अनुसार विद्यार्थीको भिसा प्राप्ति, भिसा नवीकरण तथा निर्वाह खर्चका लागि आवश्यक विदेशी मुद्रा सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावलाई ध्यानमा राखी अतिरिक्त रकम पठाउन सकिने व्यवस्था गरिएको हो।

परिपत्रअनुसार सम्बन्धित देशको राजदूतावास वा सरकारी निकायले विद्यार्थीको बैंक खातामा निश्चित रकम देखाउनुपर्ने व्यवस्था रहेको पुष्टि हुने कागजातका आधारमा आवश्यक विदेशी मुद्रा सटही उपलब्ध गराउन सकिनेछ। यदि विनिमय दरको उतारचढावका कारण अन्तिम खर्च रकम यकिन गर्न कठिन हुने अवस्था भएमा पठाउनुपर्ने रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन अनुमति दिइएको छ।

राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रमाणित कागजातलाई पनि मान्यता दिने व्यवस्था गरेको छ। एकीकृत परिपत्र–२०८२ बमोजिम पेश गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने उल्लेख भए पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा त्यसअन्तर्गत बनेका नियमावलीअनुसार डिजिटल हस्ताक्षरद्वारा प्रमाणित कागजातलाई समेत वैधानिक मान्यता प्रदान गरिनेछ।

यो व्यवस्थाले विदेश अध्ययनका लागि जाने विद्यार्थी तथा अभिभावकलाई आवश्यक रकम व्यवस्थापनमा सहजता प्रदान गर्नुका साथै कागजात प्रमाणीकरण प्रक्रियालाई थप आधुनिक र झन्झटरहित बनाउने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News