काठमाडौं । एनसेल बिजनेसको नख्खु, ललितपुरमा रहेको अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई स्थापित गरेको छ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सुचिकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो ।
यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि भएको छ , यसले अत्यावश्यक र सम्वेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पुर्वाधार उपलब्ध रहेको सुनिश्चित गरेको छ । अधिकतम अपटाइमका लागि डिजाइन गरिएको यो डाटा सेन्टर पुर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ, र पूर्ण रूपमा अतिरिक्त विद्युत आपुर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत लगभग ९९.९८२% उपलब्ध रहन्छ ।
यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए)बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो ।
“यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुङ्गा हो किनकी नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने । “हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षालाई पनि योगदान पुर्याउँछ । विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायहरूका लागि अत्यावश्यक छ जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पना समेत गर्न सक्दैनन्।”
एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयता सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आइएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ, जसले सुशासन, डाटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई थप बलियो बनाउँछ । यसका साथै एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ । यसले कम्पनी सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ ।


