CLI

आइपीओ बिक्री खुला गरेको सर्वोत्तम पेन्ट्स , कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सर्वोत्तम पेन्ट्सले  आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३४ करोडको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ८५ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ८५ हजार कित्ता सेयर  नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि   बाँडफाँट गरिसकेको छ ।

४२ हजार ५ सय कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र १७ हजार  कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ५ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।

यो निष्कासन बन्द छिटोमा असार २ गते हुनेछ भने ढिलोमा असार ११ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक  ग्लोबल आइएमई क्यापिटल लिमिटेड  रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 कम्पनीको  क्रेडिट रेटिङ र जोखिमको अवस्था

क्रेडिट रेटिङको सन्दर्भमा, केयर रेटिङ्स नेपाल लिमिटेडले यस कम्पनीलाई “CARE-NP BB- (Is)” डबल बी माइनस इस्यूअर  रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्वहरू समयमै भुक्तान गर्ने सवालमा मध्यम जोखिम (Moderate Risk of Default) रहेको संकेत गर्दछ। यो रेटिङ वि.सं. २०८२ पुस ८ गते प्रदान गरिएको हो र यसको बहाल रहने अवधि वि.सं. २०८३ माघ ३ गतेसम्म कायम रहनेछ।

कति कित्ताका लागि दिने आवेदन ?

सर्वोत्तम पेन्ट्सको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा  ७५ हजार ५० जनाले मात्र सेयर हात पार्नेछन् ।

कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीको पृष्ठभूमि र बजार विस्तार

कम्पनीको पृष्ठभूमि हेर्दा, सर्वोत्तम पेन्टस् इण्डष्ट्रिज वि.सं. २०७१ माघ ९ गते प्रालिको रूपमा दर्ता भई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा आएको थियो र वि.सं. २०७९ असार ३१ गते (असार ३० गतेको पत्रका आधारमा) पब्लिक लिमिटेडमा परिणत भएको हो।

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ (साविकको मालाखेती गा.वि.स. वडा नं. ४) मा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीको ब्रान्डनेम पेटेण्ट, डिजाइन ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम ‘सर्वोत्तम पेन्ट्स’ रहेको छ। उद्योग स्थापनाका लागि वि.सं. २०७२ असार ३० गते घरेलु तथा साना उद्योग विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गराएको यस कम्पनीले वि.सं. २०७४ मा आफ्नो टिन्टिङ्ग सिस्टम र जी-डाटा विकास गर्दै सुदूरपश्चिमका डिलरहरूबाट कार्य सुरु गरेको थियो।

हाल कम्पनीले सुदूरपश्चिम बाहिर कर्णाली, लुम्बिनी र बागमती प्रदेशको काठमाडौंसम्म ६० वटा अटोमेटिक र ६५ वटा म्यानुअल मेसिनहरूमार्फत आफ्नो डिलर सञ्जाल विस्तार गरिसकेको छ।

धितोपत्र जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, संकलित पूँजीलाई परिचालन गरी उद्योगको क्षमता विस्तार गर्न तथा निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा भित्राउन कम्पनीले आईपीओ निष्काशन गरेको हो।

निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः

निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई कम्पनीले हेटौँडा औद्योगिक क्षेत्र तथा गोदावरी नगरपालिका, हरैया, कैलालीमा भवन निर्माण, मेशिन तथा उपकरण खरिद र जडान कार्य गर्न र सामान ओसारपसार तथा ढुवानीका साधन खरिद गर्न प्रयोग गरिनेछ।

भावी योजना

कम्पनीले भविष्यमा उत्पादन विविधीकरण गर्ने, अन्तर्राष्ट्रिय स्तरको पेन्ट स्वदेशमै उत्पादन गरी आयात प्रतिस्थापन गर्ने र आन्तरिक कच्चा पदार्थको पहिचान गरी विदेशी निर्भरता न्यून गर्ने रणनीति लिएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र तथा देशका अन्य उपयुक्त स्थानमा शाखा विस्तार गर्ने योजनासहित नेपालको पेन्ट क्षेत्रमा अग्रणी बन्ने र गुणस्तरीय उत्पादनमार्फत देशको आर्थिक विकासमा योगदान दिने यसको मुख्य उद्देश्य रहेको छ। प्रबन्धपत्र र नियमावली बमोजिम कार्य गर्न आवश्यक पुँजी संकलन गर्ने र संकलित रकमलाई हेटौँडा औद्योगिक क्षेत्र तथा कैलालीको गोदावरीमा भवन निर्माण, मेसिनरी उपकरण खरिद तथा जडान, एवं ढुवानीका साधन खरिदमा उपयोग गर्ने हेतुले यो आईपीओ जारी गरिएको हो।

वित्तीय अवस्था र नाफाको प्रक्षेपण

वित्तीय अवस्थातर्फ हेर्दा, हाल कम्पनीको चुक्ता पुँजी २ लाख ५५ हजार रुपैयाँ रहेको छ र आर्थिक वर्ष २०८४\८५ सम्म यसलाई ३ लाख ४० हजार रुपैयाँ पुर्‍याउने योजना छैन। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ४ करोड ४५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ, जबकि गत वर्ष कम्पनीले १ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमएको  थियो।

कम्पनीले आगामी आर्थिक वर्ष २०८२\८३ को अन्त्यसम्ममा ८ करोड ४० लाख र आर्थिक वर्ष २०८३\८४ मा ९ करोड ६६ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ। हाल पुस मसान्तसम्मको विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.२४ रुपैयाँ र नेटवर्थ ११६.४१ रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News