CLI

अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास

काठमाडौं ।अमेरिका र इरानबीच जारी सैन्य तनावबिच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ।

इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पत्रकारहरूसँग कुरा गर्दै पछिल्ला शत्रुतापूर्ण घटनाक्रमले आशावादी बन्न कठिन बनाएको भए पनि पाकिस्तानले शान्ति प्रयासमा संलग्नता जारी राखेको बताए। उनले भने, “पाकिस्तानको मध्यस्थता प्रयास जारी छ र यसलाई कमजोर ठान्नु हुँदैन ।”

उनका अनुसार हालको तनावपूर्ण अवस्थाका बाबजुद इस्लामावादले क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवादलाई मात्र स्थायी समाधान मान्दै आएको छ । उनका शब्दमा, “कूटनीति र संवाद सबै विवादित विषयहरूको समाधानका लागि मूल मार्गनिर्देशक सिद्धान्त हुनुपर्छ ।”

यसैबिच संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरेको र त्यसको प्रतिक्रियामा इरानले प्रतिआक्रमण गरेको घटनाले पश्चिम एसियमा तनाव झनै बढाएको छ। अमेरिकी पक्षले इरानसँग चलिरहेको युद्ध अन्त्यका लागि वार्ताको प्रक्रिया अवरुद्ध भएको आरोपसमेत लगाएको छ।

प्रवक्ता अन्द्राबीले पाकिस्तान क्षेत्रीय अवस्थाप्रति गहिरो चिन्तित रहेको उल्लेख गर्दै शान्ति स्थापनाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। यसै सन्दर्भमा पाकिस्तानका गृहमन्त्री हालै इरान भ्रमणबाट फर्किएको र उक्त भ्रमणमा उनले प्रधानमन्त्रीको सन्देश तथा पत्र इरानी नेतृत्वलाई हस्तान्तरण गरेको पनि पुष्टि गरिएको छ। यसलाई पाकिस्तानको मध्यस्थता प्रयासको एक हिस्सा मानिएको छ।

पाकिस्तानले अमेरिका–इरान तनावमा आफूलाई निष्पक्ष संवादकर्ताका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय युद्ध विस्तार रोक्न कूटनीतिक पहललाई निरन्तर अघि बढाउने सङ्केत गरेको छ।

Leave Your Comment

Related News