गाजा आक्रमण विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौंमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार (२८ जुलाई २०२४) माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको हो।

विरोध सभामा सहभागी वक्ताहरुले इजरायली आक्रमण, अमेरिका लगायत साम्राज्यवादी मुलुकहरुको उक्साहट र अस्पताल तथा विद्यालयहरुमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गरे । कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कमरेड परि थापाले दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका औपनिवेशिक मुलुकहरु मुक्त हुँदै गए पनि प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरुकै योजनामा खोसिएको सन्दर्भ उल्लेख गर्दै प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको स्मरण गर्नुभयो । उनले भने, ‘१४ मे १९४८ मा इजरायल नामको नक्कली राष्ट्र स्थापना गरेर प्यालेस्टाइनी जनतालाई दुई किनारमा विभाजित बनाउने काम साम्राज्यवादीहरुकै योजनामा भएको हो ।’ थापाले प्यालेस्टाइनी मुक्ति आन्दोलनका पक्षमा रहेका भए पनि त्यहाँका फरक–फरक समूहमा विभाजित सङ्गठनहरु हालै संयुक्त रुपमा आन्दोलन गर्ने सहमतिमा पुग्नु सकारात्मक कदम रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुवेदीले आफ्नो मुलुकको स्वतन्त्रताको पक्षमा बहादुरीपूर्वक लड्ने प्यालेस्टाइनी जनताका पक्षमा संसारैभरिका न्यायप्रेमी जनताले ऐक्यबद्धता जनाएको बताए । ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले यसअघि पनि इजरायल आक्रमणको विरोधमा यही ठाउँमा ९माइतीघरमा० विरोध प्रदर्शन गरेको थियो । अहिले पनि हामी फेरि आफ्नो ऐक्यबद्धता प्रकट गर्न उभिएका छौं’, सुवेदीले भने। उनले प्यालेस्टाइनका विभिन्न समूहहरु साझा उद्देश्यका लागि एकै ठाउँ हुने भनी यसै साता गरेको समझदारी स्वागतयोग्य भएको पनि चर्चा गरे ।

अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिका सदस्य कमरेड मोहन खतिवडाले अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर आक्रमण भएको भन्दै यसका विरुद्धमा संघर्षशील प्यालेस्टाइनी जनताका पक्षमा ऐक्यबद्धता कार्यक्रमहरु गरिएको बताए । उनले क्रान्तिकारीहरुले यस प्रकारका कार्यक्रमलाई अझ सशक्त पार्नुपर्ने खाँचो पनि औंल्याए । विरोध सभामा प्यालेस्टाइनका राष्ट्रिय कविका रुपमा परिचित विश्वविख्यात अरबी स्रष्टा महमुद दार्विशको ‘परिचय पत्र’ शीर्षकको कविता वाचन गरिएको थियो । कविता कवि शैलज पौडेलले वाचन गरेका थिए ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक कमरेड सन्तबहादुर नेपालीले माइतीघरमा आज उभिएको जनपंक्तिलाई साम्राज्यवादविरुद्धको र अन्यायपूर्ण युद्धको विरुद्धको सन्देशका रुपमा अथ्र्याउनुभयो । संयोजक नेपालीको अध्यक्षतामा भएको विरोध सभामा सहभागीहरुले साम्राज्यवाद, इजरायली अतिक्रमणकारी र अन्यायपूर्ण युद्धका विरुद्धमा नाराबाजी पनि भएको थियो ।

गत अक्टुबर ७, २०२३ मा हमासबाट आक्रमण सुरु भएपछि चलेको युद्धमा आजसम्म झण्डै ४० हजार जनाको ज्यान गइसकेको छ । झण्डै एक लाख घाइते अवस्थामा छन् । संयुक्त राष्ट्र संघकै तथ्यांकअनुसार १ लाख ८० हजार भन्दा धेरै मान्छे यस बीचमा विस्थापित भएका छन् । पछिल्लो समय इजरायलले अस्पताल क्षेत्र, विद्यालय क्षेत्रमा पनि आक्रमण दोहोर्याइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार