काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०२६ जुन १४ देखि १७ सम्म चीन जनवादी गणतन्त्रको औपचारिक भ्रमण गर्नेछन्। उनी चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन्।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहयोगलाई अझ गहिरो रूपमा अगाडि बढाउने लगायतका दुई पक्षीय हितका मामिलामा छलफल हुनेछ। साथै, मन्त्री खनालले चीन जनवादी गणतन्त्रका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटघाट गर्नेछन्।
आफ्नो भ्रमणको अवसरमा मन्त्री खनालले नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागिता जनाउने छन्, जहाँ उनले चिनियाँ व्यावसायिक समुदायसँग अन्तरक्रिया समेत गर्नेछन्।
उनी आफ्नो सम्मानमा नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागी हुनेछन् र त्यहाँ रहेका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्नेछन्।
परराष्ट्रमन्त्री खनाल २०२६ जुन १७ मा काठमाडौँ फर्किनेछन्।


