काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा स्थलमार्गबाट भ्रमण गर्ने पर्यटकहरुका लागि एक विशेष निर्देशिका जारी गरेको छ, जस अन्तर्गत पर्यटकहरुले सीमामा पुगेपछि भन्सार विभागबाट अनलाइन वा भौतिक रुपमा अनिवार्य रुपमा प्रवेश अनुमति पत्र लिनुपर्नेछ र भारतीय नागरिकहरुले आफ्नो वैधता प्रमाणित गर्न राहदानी वा मतदाता परिचयपत्र पेश गर्नुपर्नेछ।
नेपालका सडकहरु साँघुरा र निकै घुम्ती भएका हुनाले चालकहरु अनुभवी हुनुपर्ने र गाडीलाई सधैं दुरुस्त अवस्थामा राख्नुपर्ने सुझाव दिइएको छ। स्वास्थ्य सुरक्षाका लागि प्राथमिक उपचार बक्स र नियमित औषधीहरु साथमै बोक्न भनिएको छ भने आर्थिक कारोबारका हकमा भारतीय नागरिकले बढीमा ५००० अमेरिकी डलर बराबरको भारतीय नगद बोक्न पाउने तर डेबिट वा क्रेडिट कार्डको प्रयोगमा कुनै सीमा नभएको उल्लेख छ।
यसका साथै, आगमन र प्रस्थानको समयमा झन्झट नहोस् भन्नका लागि आफूसँग भएका बहुमूल्य गरगहनाहरुको विवरण प्रवेशकै समयमा घोषणा गर्नुपर्ने नियम छ।
धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गर्दा मुक्तिनाथ र गोसाइँकुण्ड जस्ता उच्च उचाइ भएका क्षेत्रहरुमा लेक लाग्न सक्ने हुनाले बोटल अक्सिजन र न्यानो कपडाको व्यवस्था गर्न, तथा जथाभाभी फोहोर नगरी धार्मिक स्थलहरुको पवित्रता कायम राख्न आग्रह गरिएको छ।
पदयात्रा र पर्वतारोहणका लागि दर्ता भएका आधिकारिक गाइडहरु र अनुमति पत्र अनिवार्य गरिएको छ। स्थानीय संस्कृति र परम्पराको सम्मान गर्दै भद्र पहिरन लगाउन, मन्दिरहरुमा प्रवेश गर्नुअघि जुत्ता-चप्पल खोल्न, र मदिरा सेवन मर्यादित रुपमा गर्न भनिएको छ, साथै नेपालमा गाँजा पूर्ण रुपमा अवैध रहेको स्पष्ट पारिएको छ।
कुनै पनि असुरक्षित परिस्थिति वा आपतकालीन अवस्था आइपरेमा पर्यटकहरुले पर्यटक प्रहरीको हटलाइन ११४४ वा नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयमा तुरुन्त सम्पर्क गर्न सक्छन्।



