गौर (रौतहट) । रौतहटको गौर–बैरगनिया सीमाक्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उक्त कार्यले आगामी वर्षायाममा गौरसहित दर्जनौँ नेपाली बस्ती थप डुबानमा पर्ने जोखिम बढेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार सीमा क्षेत्रको दशगजा वा त्यसको आसपास दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने व्यवस्था भए पनि भारतीय पक्षले बैरगनिया क्षेत्रमा रहेको बाँधमा माटो थपेर त्यसलाई अग्लो र चौडा बनाइरहेको छ।
स्थानीयवासी अमित केशरीका अनुसार भारतले बिहारका सहरहरूलाई बाढीबाट जोगाउन सीमा क्षेत्रमा करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेको छ। सोही बाँधका कारण वर्षायाममा बाढीको प्राकृतिक बहाव अवरुद्ध हुँदा गौर नगरसहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्दै आएका छन्।
उनका अनुसार भारतीय पक्षले बाँधअन्तर्गत रहेका तीनवटा सुलीसगेट (पानी निकास ढोका) बन्द गर्दै आएकाले प्रत्येक वर्ष गौर क्षेत्र डुबानको चपेटामा पर्ने गरेको छ। डुबानपछि स्थानीयले बाँध भत्काउने वा सुलीसगेट खोल्ने प्रयास गर्न सक्ने भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बाँध क्षेत्रमा चौबीसै घण्टा निगरानीसमेत गर्दै आएको उनले बताए।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र बागमती नदीको पानीले निकास नपाएर ‘ब्याक फ्लो’ भई नेपाली बस्तीमा पस्ने गरेको बताए। उनका अनुसार वर्षायाममा गौर नगर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा जलमग्न हुने गरेका छन्।
गौर नगरपालिकाका पूर्वनगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको सहमतिअनुसार सीमाक्षेत्रको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा अग्ला संरचना निर्माण गर्न नपाइने भए पनि भारतले मर्मतका नाममा बाँधको उचाइ र चौडाइ बढाइरहेको आरोप लगाए। उनले वाग्मती नदीदेखि बकैया नदीपारि बन्जराहा गाउँसम्म फैलिएको बाँधकै कारण हरेक वर्ष गौर क्षेत्र डुबानमा पर्ने गरेको बताए।
यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाकी जिल्ला अधिकारी रुचि पाण्डेसँग बाँधमा माटो थप्ने विषयमा ध्यानाकर्षण गराएको जानकारी दिएका छन्। भारतीय पक्षले भने केन्द्रीय सरकारको योजनाअनुसार बाँध मर्मतको काम भइरहेको जवाफ दिएको उनले बताए।
सीमाक्षेत्रसँग जोडिएको संवेदनशील विषय भएकाले नेपाल सरकारले कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग स्थानीयवासी तथा जनप्रतिनिधिहरूले गर्दै आएका छन्। भारतद्वारा निर्माण गरिएको बाँधका कारण राजदेवी नगरपालिका, गौर नगरपालिकाका नौवटै वडा तथा इशनाथ नगरपालिकाका विभिन्न बस्तीहरू बर्सेनि डुबानमा पर्दै आएका छन्। यसबाट हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको धनजन तथा बालीनालीको क्षति हुने गरेको छ।


