काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई.श्री ताययङ पार्कबी शिष्टाचार भेटवार्ता भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा स्वास्थ्य बिमा कार्यक्रमको सुदृढीकरण, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी र औषधि उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले नेपालमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि प्राविधिक तथा संस्थागत सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल गरेको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले गणतन्त्र कोरियामा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा उनीहरूको स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्न विशेष ध्यान दिन आग्रह गरे। उनले विदेशमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि नेपाल र कोरियाबीच थप समन्वय आवश्यक रहेको बताए।
जवाफमा राजदूत पार्कले नेपाल सरकारका प्राथमिकतामा रहेका स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा गणतन्त्र कोरिया सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल–कोरिया सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्यसहित अन्य विकासका क्षेत्रमा पनि आगामी दिनमा सहकार्य थप सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
मन्त्रालयका अनुसार उक्त भेटलाई नेपाल र गणतन्त्र कोरियाबीच स्वास्थ्य क्षेत्रको साझेदारी विस्तार तथा सहयोगका नयाँ सम्भावनाहरू पहिचान गर्ने अवसरका रूपमा हेरिएको छ।


