काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा शनिवार सुनसरीको धरानमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।
उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्थाअनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समूहतर्फ एनआईसी एशिया बैंकबाट मनोनीत भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोरकुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्करराज जोशी तथा सर्वसाधारण समूहतर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् । साथै, साधारणसभा सम्पन्नपश्चात् बसेको सञ्चालक समितिको बैठकबाट सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्ष पदमा चयन गरेको छ ।


