CLI

न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानुनी कारबाही हुन्छ : श्रम सचिव काफ्ले

काठमाडौं । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काममा लगाउनु कानुनविपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानुनी कारबाही गरिने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै सचिव काफ्लेले श्रमिकको अधिकार संरक्षण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले विभिन्न श्रम मापदण्ड कार्यान्वयन गरिरहेको जानकारी दिए।

उनले श्रमिकहरूको मानव अधिकार हनन हुन नदिन कार्ययोजनासहित काम अघि बढाइएको उल्लेख गर्दै श्रममा आबद्ध व्यक्तिको वर्तमान र भविष्य दुवै सुरक्षित हुनुपर्ने सरकारको नीति रहेको बताए।

सचिव काफ्लेले श्रमिकले काम गरिरहँदा आफ्नो पेशा, श्रम तथा व्यवसायको सुरक्षा पाउनुपर्ने र श्रम गर्न नसक्ने अवस्थासम्म पुगेपछि पनि उसको जीवनयापन सुरक्षित हुने व्यवस्था आवश्यक रहेको बताए। त्यसका लागि सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

उनले प्रत्येक श्रमिकले कानुनले तोकेको न्यूनतम ज्याला प्राप्त गर्नुपर्ने उल्लेख गर्दै न्यूनतम ज्याला नदिने कार्यले श्रम कानुनका विभिन्न व्यवस्था उल्लंघन गर्ने बताए।

सचिव काफ्लेले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षणप्रति पनि सरकार संवेदनशील रहेको बताए। श्रमका लागि विदेश गएका नेपाली नागरिकमाथि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको र उनीहरूको सुरक्षा तथा हितका लागि आवश्यक पहल जारी रहेको उनले दाबी गरे।

कार्यक्रममा श्रमिकको मानव अधिकार, सामाजिक सुरक्षा, सुरक्षित रोजगारी तथा जिम्मेवार व्यवसायिक अभ्यासका विषयमा समेत छलफल भएको थियो।

Leave Your Comment

Related News