काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा करिब ५ अर्ब २७ करोड रुपैयाँ बचत फिर्ताका लागि ६ हजारभन्दा बढी बचतकर्ताले निवेदन दिएका छन्। सहकारीमा फसेको रकम फिर्ता गरिदिन माग गर्दै वैशाख १७ गतेदेखि हालसम्म लगातार उजुरी तथा आवेदन बढिरहेको विभागले जनाएको छ।
विभागका अनुसार दैनिक करिब ३० जना बचतकर्ता उजुरी लिएर आउने गरेका छन्। तीमध्ये धेरैजसो साना बचतकर्ता रहेको र उनीहरूले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म बचत गरेका छन्।
सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले पछिल्लो समय प्राप्त उजुरीकै आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
यस क्रममा काठमाडौँ महानगरपालिकाले हालै बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। सो सहकारीमार्फत एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका सदस्यको रकम फिर्ता गरिएको हो।
विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने योजना छ। ठूला बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाउँदै रकम फिर्ता गर्ने कार्यमा समन्वय भइरहेको छ।
सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ। सहमति हुन नसकेका मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ।
हाल काठमाडौँ महानगरमा १ हजार ९१२ सहकारी दर्ता रहेका छन्। तीमध्ये करिब आधा सहकारीले मात्र नियमित वार्षिक साधारणसभा तथा प्रतिवेदन बुझाउने गरेको पाइएको छ। नियमित प्रक्रिया पूरा नगर्ने सहकारीमाथि कानुनी कारबाही अघि बढाइने महानगरले जनाएको छ।


