CLI

फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) तत्काल लागु हुने गरी निलम्बित (पत्रसहित)

काठमाडौं । फुटबलको विश्वव्यापी सर्वोच्च निकाय फिफाले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागु हुने गरी निलम्बन गरेको छ। फिफाले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो।

यस निलम्बनका कारण अब नेपालका राष्ट्रिय टोलीहरू फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिताहरूमा सहभागी हुन अयोग्य हुनेछन्।

फिफाले एन्फा, यसका सदस्यहरू र पदाधिकारीहरूलाई फिफा तथा एएफसीका विकास र प्रशिक्षण कार्यक्रमहरूमा भाग लिन समेत रोक लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसद्वारा जानकारी गराउँदछौँ कि २४ जुन २०२६ मा काउन्सिलको ब्युरो (Bureau of the Council) द्वारा लिइएको निर्णयको परिणामस्वरुप, फिफा विधानको धारा १६ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि एन्फालाई निलम्बन गरिएको छ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “तसर्थ, २४ जुन २०२६ देखि लागु हुने गरी, एन्फाले फिफा विधानको धारा १३ मा परिभाषित गरिए अनुसार आफ्ना सबै सदस्यता अधिकारहरू अर्को सूचना नभएसम्मका लागि गुमाएको छ। फलस्वरूप, निलम्बन फुकुवा नभएसम्म एन्फाका प्रतिनिधि र क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन पाउने छैनन्।”

विज्ञप्तिमा थपिएको छ, “यसको अर्थ एन्फा वा यसका कुनै पनि सदस्य वा पदाधिकारीहरूले फिफा र/वा एएफसीको कुनै पनि विकास कार्यक्रम, पाठ्यक्रम वा प्रशिक्षणबाट लाभ उठाउन पाउने छैनन्। यसबाहेक, एन्फा निलम्बनमा रहेको अवधिभर एन्फा र/वा यसका टोलीहरूसँग कुनै पनि खेलकुद सम्पर्क नगर्न हामी तपाईं र तपाईंका सम्बद्ध निकायहरूलाई सचेत गराउँदछौँ।”

फिफाले निलम्बनको कारण बनेका परिस्थितिहरू समाधान भएमा आगामी फिफा कंग्रेस (FIFA Congress) अगावै पनि यो प्रतिबन्ध फुकुवा हुन सक्ने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “अन्तमा, काउन्सिलको ब्युरो वा फिफा काउन्सिलले आगामी फिफा कंग्रेस हुनु अगावै जुनसुकै बेला यो निलम्बन फुकुवा गर्न सक्नेछ। यदि यसो भएमा, हामी तपाईंलाई सोही अनुसार जानकारी गराउनेछौँ।”

Leave Your Comment

Related News