CLI

बढ्दो गर्मीबीच फ्रान्समा ‘एयर कन्डिसनिङ ’ बारे धारणा परिवर्तन

पेरिस । बढ्दो तापक्रम र बारम्बारको गर्मीको लहरका कारण फ्रान्सले एयर कन्डिसनिङ (एसी) सम्बन्धी आफ्नो परम्परागत धारणा पुनर्विचार गर्न थालेको छ। लामो समयदेखि वातावरणीय कारण देखाउँदै एसीको प्रयोगप्रति सशंकित रहँदै आएको देशमा अहिले यसको आवश्यकता र उपयोगिताबारे बहस तीव्र बनेको छ।

यस साता दक्षिणपन्थी नेतृ मरीन ले पेनले सरकारले अनुदानसहित देशभर एसी जडान अभियान सञ्चालन गर्नुपर्ने माग गरेकी छन्। त्यस्तै, एसीको विरोध गर्दै आएको हरित राजनीतिक धारले समेत विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रमा एयर कन्डिसनिङ अपरिहार्य हुन सक्ने स्वीकार गर्न थालेको छ।

हाल फ्रान्सका केवल २५ प्रतिशत घरधुरीमा मात्र एसी जडान गरिएको छ। यो दर स्पेन र इटालीमा ५० प्रतिशत तथा अमेरिका र जापानमा ९० प्रतिशत रहेको छ।

अत्यधिक गर्मीका कारण फ्रान्सका हजारौं विद्यालय यस साता बन्द भएका छन्। अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र नर्सहरूले पनि काम गर्ने वातावरण असह्य बन्दै गएको बताएका छन्।

तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेपछि पोर्टेबल एसी उपकरणको माग ह्वात्तै बढेको छ। अभिभावकहरूले बालबालिकालाई कक्षाकोठामा सहज वातावरण उपलब्ध गराउन तथा साना अपार्टमेन्टमा बस्नेहरूले रातको गर्मीबाट राहत पाउन यस्ता उपकरण खरिद गरिरहेका छन्।

फ्रान्सको हरित दल ‘द इकोलोजिस्ट्स’ की नेतृ मेरी टोन्डेलियरले विद्यालय र अस्पतालमा एयर कन्डिसनिङ आवश्यक हुन सक्ने बताएकी छन्। उनका अनुसार केही स्थानहरूमा अब एसीबिना काम चलाउन कठिन भइसकेको छ।

यद्यपि वातावरणविद्हरूले एसीलाई जलवायु परिवर्तनको स्थायी समाधान नभएको तर्क गर्दै आएका छन्। उनीहरूका अनुसार एसीले विश्व तापवृद्धिको मूल कारण हटाउँदैन, बरु त्यसका असरलाई केही हदसम्म कम महसुस गराउने मात्र काम गर्छ।

एसी सञ्चालनका लागि आवश्यक विद्युत्, रेफ्रिजरेन्ट ग्यासको प्रयोग तथा बाहिर निकालिने तातो हावाले सहरको तापक्रम थप बढाउने भएकाले यसको वातावरणीय प्रभावबारे बहस अझै जारी रहेको छ।

बढ्दो गर्मी र जलवायु परिवर्तनका चुनौतीबीच फ्रान्समा अब एयर कन्डिसनिङलाई सुविधा मात्र नभई सार्वजनिक स्वास्थ्य र सुरक्षासँग जोडिएको आवश्यक पूर्वाधारका रूपमा हेर्न थालिएको छ।

एजेन्सीको सहयोग

Leave Your Comment

Related News