CLI

बैकिङ प्रणालीमा करिब ८० खर्ब पुग्यो निक्षेप, के राष्ट्र बैंकले परिचालन गर्न सकेन लगानीयोग्य रकम ?

काठमाडौं । बैकिङ प्रणालीमा निक्षेप रकम करिब ८० खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको गरी बैंकिङ प्रणालीमा कुल निक्षेप रकम ७९ खर्ब ८० अर्ब ६० करोड पुगेको हो । चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म) उक्त निक्षेप रकम संकलन भएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० खर्ब ९६ अर्ब ५ करोडले बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको गरी बैकिङ प्रणालीमा कुल निक्षेप रकम ६८ खर्ब ८४ अर्ब ५४ करोड रहेको थियो । मुलुकमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वित्त कम्पनीहरु सञ्चालनमा रहेका छन् भने ती संस्थाहरुको निक्षेप रकममा वृद्धि भएको हो ।

रेमिटेन्समा भएको वृद्धि र लगानीमा आएको कमीका कारण बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप रकममा वृद्धि भएको बैंकरहरु बताउछन् । अर्कोतर्फ कर्जाको ब्याजदर कम हुँदा समेत सरकारले लगानीको वातावरण बनाउन नसक्दा कर्जा वितरण हुन नसकेको बैंकरहरुको भनाई छ ।
चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड विप्रेषण रकम भित्रिएको छ । जुन ४१.२ प्रतिशतको वृद्धिदर हो । वैशाखमा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण आप्रवाह भएको हो ।

अहिले बैंकहरुले निक्षेपमा दिने ब्याजदर औसत ४.४ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीमा थपिएको निक्षेप बैंक तथा वित्तीय संस्थाका लागि मात्र नभई नेपाल राष्ट्र बैंकका लागि पनि चुनौती बन्दै गएको वित्तीय क्षेत्रका जानकारहरु  बताउँछन्। वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा ब्याजदरमा अस्वाभाविक उतारचढाव आउने भएकाले त्यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले ब्याज तिरेर तरलता प्रशोचन गर्दै आएको छ।

बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक र सरकारले उपलब्ध स्रोत परिचालनका प्रभावकारी योजना बनाउन नसके निक्षेप स्वीकार गर्नसमेत कठिन अवस्था आउन सक्ने एक बैंकरले बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि वित्तीय प्रणालीमा पर्याप्त स्रोत उपलब्ध भए तापनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको बताएका छन्। पछिल्लो सयम आायेजित एक कार्यक्रममा उनले सरकारले आन्तरिक ऋण उठाएर पूर्वाधार क्षेत्रमा लगानी गर्न चाहँदा पनि कानुनी सीमाका कारण सहज नभएको उल्लेख गरे।

उनका अनुसार सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने व्यवस्थाका कारण वित्तीय प्रणालीमा पर्याप्त स्रोत हुँदाहुँदै पनि त्यसको उपयोगमा सीमा देखिएको छ।

अर्थमन्त्री वाग्लेले सर्वसाधारणबाट संकलित निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ उपाय खोज्न आवश्यक रहेको बताउँदै आएका हुन्  । बैंकहरूले संकलन गरेको निक्षेप मुख्यतः सरकारी ऋणपत्र तथा निजी क्षेत्रको कर्जामा लगानी गर्ने गरेका छन्। तर सरकारको ऋण लिने क्षमता सीमित रहेको र निजी क्षेत्रमा कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले स्रोत परिचालन चुनौतीपूर्ण बनेको छ।

नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार अर्थतन्त्रमा देखिएको सुस्तताका कारण नयाँ उद्योगधन्दा खुल्ने क्रम कमजोर छ , नयाँ उद्योग स्थापना भएका छैनन्,भने सञ्चालनमा रहेका उद्योग–व्यवसायले समेत लगानी विस्तार गर्न चाहेका छैनन्। त्यसैले कर्जाको माग बढ्न सकेको छैन।

उनका अनुसार एकातर्फ कर्जा विस्तार हुन नसक्ने र अर्कोतर्फ निक्षेप निरन्तर बढिरहने अवस्थाले वित्तीय प्रणालीमा अधिक तरलताको समस्या सिर्जना गरेको छ। उपलब्ध स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नयाँ विकल्प नखोजिए यो चुनौती अझ जटिल बन्न सक्ने उनीहरूको भनाइ छ।

चालु आर्थिक वर्षको १० महिनामा उक्त निक्षेप रकम संकलन हुँदा बैंकिङ प्रणालीमा ३५.९८ प्रतिशत तरलता रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ प्रणालीमा २४.८४ प्रतिशत तरलता रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमा ७१ खर्ब ९७ अर्ब ३४ करोड निक्षेप रकम रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० खर्ब ४८ अर्ब ५५ करोडले बढी निक्षेप रकम हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुमा ६१ खर्ब ४८ अर्ब ७९ करोड निक्षेप रकम रहेको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा विकास बैंकहरुमा ६ खर्ब ४४ अर्ब ४ करोड निक्षेप रकम रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ अर्ब ५५ करोडले बढी निक्षेप रकम हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा विकास बैंकहरुमा ६ खर्ब ९ अर्ब ४८ करोड निक्षेप रकम रहेको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा फाइनान्स कम्पनीहरुमा १ खर्ब ३९ अर्ब २१ करोड निक्षेप रकम रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब ९५ करोडले बढी निक्षेप रकम हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा फाइनान्स कम्पनीहरुमा १ खर्ब २६ अर्ब २५ करोड निक्षेप रकम रहेको थियो ।
समिक्षा अवधिमा वािणज्य बैंकमा ३६.८०, विकास बैंकमा २७.०३ र वित्त कपमनीमा ३५.४४ प्रतिशत तरलता रहेको छ ।

Leave Your Comment

Related News