काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ। उक्त शेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी, सामूहिक लगानी कोषका योजना तथा सर्वसाधारणका लागि छुट्याइनेछ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा तुँदी पावर कम्पनीका तर्फबाट महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
तुँदी पावर कम्पनीले म्याग्दी जिल्लास्थित राहुगंगा नदीको पानी उपयोग गरी चिमखोला–राहुघाट–मंगले (३५.५ मेगावाट) र माथिल्लो राहुघाट (४८.५ मेगावाट) जलविद्युत आयोजना निर्माण गरेको छ। कम्पनीका अनुसार दुवै आयोजनाबाट २०८२ साउन २० गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।
उत्पादित विद्युत राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर बिक्री भइरहेको कम्पनीले जनाएको छ।


