नीतिगत सुधार गरेर पर्यटन क्षेत्रलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिवद्धता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नीतिगत सुधार गरेर पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

नेपाल पर्यटन बोर्डले नव नियुक्त मन्त्री पाण्डेको स्वागतमा आयोजना गरेको कार्यक्रमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष उपाध्यक्ष कमल सापकोटा, सदस्य सचिव मिलन देवकोटा,सदस्यहरु मदन आचार्य, ऋषि भण्डारी, र राजेन्द्र लामा तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री पाण्डेलाई बुधबार पर्यटन बोर्डमा स्वागत गरेका।

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए । लेखेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटनका लागि प्रकृतिले दिएको अद्दितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनु पर्नेमा जोड दिए । पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले नै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप बोर्ड गठन गरिएको उल्लेख पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए ।

”बोर्डसंग नीतिगत , कार्यगत तथा, प्रवृतिगत सुधार एवं कर्मचारीको वृत्तिविकास लगायत थु्प्रै विषय जोडिएका छन् । यसलाई समाधान गर्दै लैजानु पर्छ । समस्याका बीचमा पनि हामीसंग पर्यटनमा धेरै सम्भावनाहरु छन् त्यसलाई उजागर गर्न सक्नु पर्छ । व्यक्ति भन्दा पनि देशका लागि हामीले के गरयौं भन्ने भावनाले काम गर्न सकेमा पर्यटनबाट हामीले धेरै लाभ लिन सक्छौं, ” उनले भने ।

मन्त्रालयले बोर्डसंगै अन्य पर्यटन मन्त्रालयसंग सम्बन्धित निकायहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री पाण्डेले बोर्डले आयोजना गर्ने कार्यक्रमको औचित्य र प्रभावकारीलाई हेरेर नयाँ बजेट र कार्यक्रम बनाउनु पर्ने बताए । मन्त्रीलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिए । उनले कतिपय नीतिगत समस्याको कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकिरहेको जानकारी दिँदै नीतिगत तथा प्रकृयागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री समक्ष आग्रह आग्रह गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार