वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँगको भेटमा ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताएका हुन् । उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको वताएका थिए  ।

प्रधानमन्त्रीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा रहेको वताए ।

उनले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्रीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएका छन्  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार