काठमाडौं । एशियन पेन्ट्स नेपालले कालेइडोस्कोप अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइनप्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एलोफ्ट बाई मेरियट, ठमेल, काठमाडौंमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिकअध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभाग, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, नेपाल इञ्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङफर्म्स, देशका प्रतिष्ठित शैक्षिक संस्थाका प्राध्यापकहरू, ख्यातिप्राप्त आर्किटेक्टहरू, इन्टेरियर डिजाइनरहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कालेडोस्कोप नेपालका भावी वास्तुकार तथा आन्तरिक डिजाइनरहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो । प्रतियोगिताले विद्यार्थीहरूलाई उद्योगको वास्तविक कार्य परिवेशसँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मक क्षमता तथा पेशागत तयारीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउँदै आएको छ।
यस वर्षको प्रतियोगिताले नेपालका उदीयमान डिजाइन प्रतिभाहरूको जोश, सिर्जनशीलता र समर्पणलाई सम्मान गरेको थियो । प्रतिष्ठित वरिष्ठ आर्किटेक्टहरू, सोसाइटी अफ नेपालीआर्किटेक्ट्सका प्रतिनिधिहरू तथा शहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारीहरू सम्मिलितनिष्पक्ष निर्णायक मण्डलद्वारा बहु-चरणीय मूल्याङ्कन प्रक्रियामार्फत उत्कृष्ट डिजाइनहरूको छनोट गरिएको थियो ।
असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताकोकदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने शीर्ष तीन विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।


