काठमाडौं । गल्फ (खाडी) क्षेत्रमा रहेका अमेरिकी अखडाहरुलाई लक्षित गर्दै इरानले आइतबार तीव्र मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। इरानले विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः बन्द गरेको घोषणा गरे लगतै दुई देशका सेनाबीच यो भीषण आक्रमण भएको हो।
विगत केही दिनयता अमेरिका र इरानबीच भएका शृङ्खलाबद्ध आक्रमणहरूका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको लडाइँलाई रोक्न यो युद्धविराम गरिएको थियो। यद्यपि, राष्ट्रपति ट्रम्पले अझै पनि वार्ताको ढोका भने खुला राखेका छन्।
यो तनाब व्यावसायिक जहाजहरूमाथि भएका लगातारका आक्रमणहरू पछि थप चर्किएको हो। इरानले स्वीकृत नगरिएको मार्गबाट यात्रा गरिरहेको एउटा जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरेपछि यो जलमार्ग बन्द गरिएको जनाएको छ। साथै, आइतबार अर्को दोस्रो जहाजलाई पनि नियन्त्रणमा लिएको (अक्षम बनाएको) इरानले दाबी गरेको छ।
इरानको ‘रिभोलुसनरी गार्ड्स’ ले “यस क्षेत्रमा अमेरिकी हस्तक्षेप पूर्ण रूपमा अन्त्य नभएसम्म” हर्मुज जलमार्ग बन्द रहने बताएको छ।
यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले भने व्यावसायिक जहाजहरूले अझै पनि सोही जलमार्गबाट आवतजावत गरिरहेको दाबी गरेको छ। युद्ध सुरु हुनुअघि विश्वको कुल तेल र एलएनजी ढुवानीको एक–चौथाई हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने गर्दथ्यो।


