काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा ९ अर्ब भन्दा बढी पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् साउन देखि जेठसम्म लघुवित्त संस्थाहरुको खुद नाफा ९ अर्ब १८ करोड ५० लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्त संस्थाहरुको खुद नाफा ६०.४६ प्रतिशत अर्थात् ३ अर्ब ४६ करोड १० लाखले बढी हो । आर्थिक वर्ष २०८१८२ को ११ महिनामा लघुवित्त संस्थाहरुको खुद नाफा ५ अर्ब ७२ करोड ४० लाख रहेको थियो ।
केन्द्रिय बैंकका अनुसार लघुवित्त संस्थाहरुको ब्याज आम्दानी र ब्याज खर्चमा सुधार भएको छ । चालु आवको ११ महिनामा संस्थाहरुको ब्याज आम्दानी र ब्याज खर्च क्रमशः ५८ अर्ब ७९ करोड ५० लाख र २७ अर्ब ५ करोड ४० लाख रहेको छ । गत आवको ११ महिनामा संस्थाहरुको ब्याज आम्दानी ५४ अर्ब ८६ करोड ९० लाख रहेकोमा ब्याज खर्च २८ अर्ब ९४ करोड ९० लाख रहेको थियो ।
त्यस्तै चालु आवको ११ महिनामा संस्थाहरुको सञ्चालन आम्दानी ३ अर्ब २० लाख, जोखिम व्यवस्थापन रकम २३ अर्ब ९८ करोड २० लाख र कुल आम्दानी ८३ अर्ब ४८ करोड ४० लाख रहेको छ । गत आवको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ९६ करोड ४० लाख रहेको छ भने जोखिम व्यवस्थापन रकम २४ अर्ब ६४ करोड १० लाख र कुल आम्दानी ७९ अर्ब ५३ करोड १० लाख रहेको थियो ।
चालु आवको ११ महिनामा बचत सदस्य संख्या ६४ लाख २० हजार २ जना र बचत रकम २ खर्ब २४ अर्ब ८२ करोड १० लाख रहेको छ । गत आर्थिक वर्षको ११ महिनामा बचत सदस्य संख्या ६१ लाख ५७ हजार ३७ जना र बचत रकम १ खर्ब ९३ अर्ब ३५ करोड ९० लाख रहेको छ ।
समिक्षा अवधिमा संस्थाहरुमा बचत सदस्य संख्या र बचत रकममा वृद्धि भएको छ । बैंकिङ प्रणालीमा घट्दो ब्याजदर र कर्जाको मागदर न्यून हुँदा त्यसको फाइदा लघुवित्तले लिएको छ । लघुवित्तले सस्तोदरमा कर्जा सापटी लिने र उक्त कर्जा लगानी गर्ने भएकोले वित्तीय प्रणालीमा घट्दो ब्याजदर र बैंकिङ प्रणालीमा भएको तरलताको लाभ लिने गरेको केन्द्रिय बैंकका अधिकारीहरु बताउछन् ।
लघुवित्तहरुमा बचत सदस्य र रकम बढ्दा निष्क्रिय समूह संख्या भने बढेको छ । समिक्षा अवधिमा करिब २० हजारले निष्क्रिय समूह संख्या बढेको देखिन्छ । चालु आवको ११ महिनामा बचत निष्क्रिय समूह संख्या ५७ हजार २३३ रहेकोमा गत आवको सोही अवधिमो सो संख्या ३७ हजार ५८२ रहेको थियो । निष्क्रिय संख्यामा कमी ल्याउन लघुवित्तहरुले ध्यान दिनु आवश्यक रहेको छ ।


