वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

काठमाडौं । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारिसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार रुपैयाँ बराबरका इन्धनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारिसाधन आयात हुँदा भन्सार कार्यालयले चार अर्ब ९६ करोड ९२ लाख १८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

आव २०७९\८० मा भने यो कार्यालय हुँदै एक अर्ब ७८ करोड ८७ लाख ६७ हजार रुपैयाँ बराबरको एक हजार एक सय ४९ वटा जिप, कार र भ्यानहरू आयात भएका थिए । ती सवारिसाधन आयात हुँदा राज्यले चार अर्ब नौ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो ।

आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जिप, कार र भ्यानहरू आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए।

आव २०८०\८१ मा रु एक अर्ब १४ करोड ५० लाख ६७ हजार मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारिसाधन आयात हुँदा कार्यालयले रु ५८ करोड १३ लाख १३ हजार मात्रै राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार आव २०७९\८० मा यो भन्सार कार्यालय हुँदै रु एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आवमा यो कार्यालयले भन्सारवापत रु ६० करोड ८८ लाख ६२ हजार संकलन गरेको छ ।

आव २०८०\८१ मा ३५ करोड ३८ लाख ४० हजार रुपैयाँ पर्ने दुई सय ४० वटा डबल क्याव पिकअप सवारी आयात भएको थियो । सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व संकलन भएको थियो । जबकी आव २०७९\८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो । ती गाडी आयात हुँदा राजस्व भने एक अर्ब ५५ करोड ४३ लाख १९ हजार रुपैयाँ संकलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आव २०७९\८० को तुलनामा गत आवमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।

आव २०८०\८१ मा २७ करोड ४४ लाख ८९ हजार रुपैयाँ पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट ३४ करोड ५४ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ । जबकी आव २०७९\८० मा भने ८३ करोड १९ लाख दुई हजार रुपैयाँ पर्ने आठ हजार सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व संकलन भयो । आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।

आव २०८०\८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा ५७ करोड नौ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आव २०७९\८० मा भने ८३ करोड ७४ लाख ६९ हजार रुपैयाँका तीन सय ५४ वटा ट्रक, मिनी ट्रकको आयात हुँदा राज्यले ४८ करोड ३२ लाख नौ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आव २०७९\८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार गत आवमा आयात भएका सवारिसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व संकलनमा आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार