CLI

ईपीएस भाषा परीक्षाको आवेदन खुला

काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली श्रमिक पठाउन प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK) का लागि आवेदन खुला गरेको छ। शाखाले भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको स्पष्ट गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।

नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारीअनुसार एचआरडी कोरियाले उपलब्ध गराएको परीक्षा कार्यक्रमका आधारमा भाषा परीक्षा सञ्चालन गरिनेछ।

शाखाका अनुसार परीक्षा मिति आवेदन संकलन सम्पन्न भई कुल आवेदक संख्या निर्धारण भएपछि कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। एक दिनमा अधिकतम पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गरिनेछ भने आवेदक संख्या वा अन्य विशेष परिस्थितिका आधारमा तालिका परिवर्तन हुन सक्ने जनाइएको छ।

यसपटक प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टम अन्तर्गत पहिलो चरणमा करिब ७,२०० जना उम्मेदवार उत्तीर्ण हुने अनुमान गरिएको छ। यसमध्ये उत्पादनमूलक क्षेत्रमा ५,००० जना, कृषि तथा पशुपालन क्षेत्रमा २,००० जना, सेवा क्षेत्रमा १०० जना र वन क्षेत्रमा १०० जना उत्तीर्ण गराइने लक्ष्य राखिएको छ। यद्यपि अन्तिम उत्तीर्ण संख्या कोरियामा कामदारको माग र एचआरडी कोरियाले तोकेको कट-अफका आधारमा घटबढ हुन सक्ने शाखाले जनाएको छ।

सूचनाअनुसार एक व्यक्तिले एकवटा क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन्। पहिलो चरणमा छनोट भएको क्षेत्र पछि परिवर्तन गर्न पाइने छैन। भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि दोस्रो चरणको सीप परीक्षण (Skill Test) र कार्यक्षमता मूल्याङ्कन (Job Capacity Assessment) मा सफल भएका उम्मेदवार मात्र अन्तिम छनोटमा पर्नेछन्।

आवेदन दिने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ३८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको अर्थात् सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बीच जन्मिएको हुनुपर्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनी बसोबासका कारण फिर्ता नपठाइएको तथा कोरियामा ई–९ वा बी–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै रङ छुट्याउन नसक्ने (कलर ब्लाइन्ड) वा रङ छुट्याउन गम्भीर समस्या हुने व्यक्ति पनि अयोग्य हुने जनाइएको छ।

भाषा परीक्षाका लागि सन् २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइन आवेदन दिन सकिनेछ। आवेदन ईपीएस नेपालको अनलाइन प्रणाली मार्फत भर्नुपर्नेछ। आवेदन गर्दा राहदानीको बायो पेज, पछिल्लो छ महिनाभित्र खिचिएको राहदानी आकारको रंगीन फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा अपलोड तथा उल्लेख गर्नुपर्ने शाखाले जनाएको छ।

ईपीएस कोरिया शाखाले “कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारीको सुनिश्चितता होइन” भन्दै अन्तिम छनोटका सबै चरण सफलतापूर्वक पूरा गरेपछि मात्र रोजगार प्रक्रियामा सहभागी हुन सकिने स्पष्ट पारेको छ।

Leave Your Comment

Related News