काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रुपमा आयोजना हुन लागेको नाइमा एक्स्पो भव्य बनाइने भएको छ । आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा सवारीसाधानहरुको नयाँ भेरियन्ट सार्वजनिक गर्नुका साथै सबै पक्षको धेरै संख्यामा सहभागीता जनाउने तयारी आयोजकको रहेको छ ।
एक्स्पोमा सहभागी चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारी साधनका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको छ। जसमध्ये २६ वटा स्टल चारपाङ्ग्रे सवारी साधन ब्रान्डहरुलाई तथा २३ वटा स्टल दुईपाङ्ग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरुलाई प्रदान गरिएको छ।
प्रदर्शनीमा दुईपाङ्ग्रेतर्फ प्युजो, बिगास, जेटएक्समोटो, सीएक्स मोटरसाइकल, निउ, केरेन इलेक्ट्रिक स्कुटर, बजाज, केटीएम, ट्रायम्फ, टिभीएस, याडिया, गारो, सीएफमोटो, जीहो, होन्डा, रोयल इन्फिल्ड, अल्ट्राभोइलेट, मोर्बिडेली, सुजुकी र एथर जस्ता ब्रान्डहरु रहेका छन्।
नाइमा एक्स्पोमा बजाज र सुजुकी जस्ता ब्रान्डहरूले नयाँ मोडलहरू सार्वजनिक गर्ने भएका छन्। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले दुई नयाँ मोडलका इलेक्ट्रिक स्कुटरहरु बजाज चेतक C3503 र चेतक C2501 सार्वजनिक गर्ने तयारी गरेको छ। प्रिमियम र लामो रेन्ज खोज्ने ग्राहकका लागि ल्याइने चेतक C3503 मा ३.५ kWh क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ, जसले एक पटकको फुल चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको ब्याट्री ३ घण्टा २५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। ६३ देखि ७० किमी/घण्टा सम्मको अधिकतम गति दिने यो मोडलमा सामान राख्नका लागि ३५ लिटरको ठूलो बूट स्पेस उपलब्ध छ।
त्यस्तै, चेतक C2501 मा ३.२ kWh को ब्याट्री रहेको छ, जसले १३७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको ब्याट्री ३ घण्टा २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ भने यसले ६३ देखि ६५ किमी/घण्टा सम्मको गति र ३० लिटरको बूट स्पेस प्रदान गर्छ। यी दुवै मोडलको मूल्य भने एक्स्पोमै सार्वजनिक गरिनेछ।
यता, भी. जी. अटोमोबाइल्सले पनि सुजुकीका दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले सुजुकी जिक्सर १५५ BS6 र ब्लुटुथ कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ राइड कनेक्टलाई विशेष आकर्षणका रुपमा प्रस्तुत गर्दै छ। स्पोर्टी र प्रिमियम स्टाइल खोज्ने युवाहरुका लागि लक्षित सुजुकी जिक्सर १५५ BS6 मा १५५ cc को फ्युल-इन्जेक्टेड (FI) इन्जिन रहेको छ, जसले १३.४१ bhp पावर र १३.८ Nm टर्क उत्पन्न गर्छ। ५-स्पीड गियरबक्स र सिङ्गल-च्यानल ABS सुरक्षा प्रविधिसहित आउने यो मोटरसाइकलमा एग्रेसिभ एलईडी हेडल्याम्प, फुल डिजिटल एलसीडी कन्सोल, मस्कुलर फ्युल ट्याङ्क र ट्विन-एग्जिट मफ्लर जस्ता आधुनिक सुविधाहरु रहेका छन्, जसले सहरी सडकमा उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्छ।
त्यस्तै, सुजुकी एक्सेस १२५ राइड कनेक्टमा १२४ cc को BS6 FI इन्जिन दिइएको छ, जसले ८.७ PS पावर र १० Nm टर्क प्रदान गर्छ। यस मोडलको मुख्य विशेषता डिजिटल कन्सोलमा उपलब्ध ब्लुटुथ कनेक्टिभिटी हो, जसले टर्न-बाई-टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट, फोन ब्याट्री लेभल र स्पीड वार्निङ जस्ता सुविधाहरु चालकको डिस्प्लेमै देखाउँछ। साथै, २१ लिटरको विशाल बूट स्पेस, बाहिरैबाट इन्धन भर्न मिल्ने External Fuel Lid, र प्रिमियम क्रोम फिनिसिङले गर्दा यो स्कुटर दैनिक प्रयोगका लागि अझ सहज र उपयोगी बन्नेछ।
साथै, वैद्य इनर्जी प्रा. लि.ले एथरको नयाा इलेक्ट्रिक स्कुटर सार्वजनिक (लाञ्च) गर्ने भएको छ । लक्ष्मी कमर्सियल प्रा. लि.ले केरेनका दुईवटा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ र विभिन्न अफरहरुसमेत नाइमा एक्स्पोमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ।
अर्कोतर्फ,ले रोयल इन्फिल्ड र ट्रायम्फले भने कुनै पनि नयाँ मोडल नल्याउने भएका छन्। तर यी दुई कम्पनीहरुले अवलोकनकर्ताका लागि विभिन्न गेम (खेल) तथा आकर्षक अफरहरु ल्याउने बताएका छन्।


