काठमाडौं । मनसुनी बाढी र पहिरोको जोखिम बढिरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालका प्रयोगकर्ताका लागि विश्वसनीय जानकारीमा सहज पहुँच सुनिश्चित गर्न विशेष ‘सर्च गाइड’ सेवा सुरु गरेको छ। प्राकृतिक विपद्का समयमा सही सूचना प्रवाहलाई प्राथमिकता दिने र गलत सूचना फैलिन नदिने उद्देश्यका साथ कम्पनीले यो सुविधा सार्वजनिक गरेको हो।
टिकटकका अनुसार अब बाढी, पहिरो वा मनसुनसँग सम्बन्धित सामग्री खोज्ने प्रयोगकर्ताले खोज परिणामसँगै एउटा विशेष ब्यानर देख्नेछन्। उक्त ब्यानरमार्फत प्रयोगकर्तालाई प्रमाणित स्रोतबाट जानकारी लिन प्रोत्साहित गरिनेछ।
यो ‘सर्च गाइड’मार्फत प्रयोगकर्ताले नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल (BIPAD), टिकटकको सेफ्टी सेन्टर तथा विपद् वा दुःखद घटनाबाट प्रभावित व्यक्तिका लागि तयार गरिएको ‘ट्र्याजिक इभेन्ट सपोर्ट गाइड’ मा सिधै पहुँच पाउनेछन्। यी स्रोतमा बाढी तथा अन्य प्राकृतिक विपद्सम्बन्धी अद्यावधिक सूचना, सुरक्षा सुझाव तथा आवश्यक सहयोगसम्बन्धी जानकारी उपलब्ध हुनेछ।
टिकटकले जनाएको अनुसार गाइडमा प्राकृतिक विपद्, व्यक्तिगत क्षति तथा संवेदनशील घटनाबारे जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने, यस्ता घटनासँग सम्बन्धित सामग्री जिम्मेवारीपूर्वक कसरी साझेदारी गर्ने र भ्रामक वा हानिकारक सामग्री कसरी रिपोर्ट गर्ने भन्ने विषयमा पनि विस्तृत जानकारी समावेश गरिएको छ।
टिकटकका दक्षिण एशियाका पब्लिक पोलिसी एन्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले संकटका बेला विश्वसनीय सूचना अत्यन्तै महत्वपूर्ण हुने बताए।
उनले भने, “संकटका बेला सही जानकारी पनि अन्य सहायताजत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिसहरू सुरक्षित, संयमित र सही जानकारीसहित निर्णय लिन सकून्।”
टिकटकका अनुसार यो पहल प्लेटफर्ममा विश्वसनीय सूचनालाई प्राथमिकता दिने र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो। कम्पनीले प्रयोगकर्ताको अनुभवमै यस्ता सूचना तथा स्रोत समावेश गरेर आवश्यक समयमा सही जानकारीमा सहज पहुँच उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।
साथै, प्रयोगकर्ताले संकटका बेला प्रमाणित जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र सामाजिक सञ्जालमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल प्लेटफर्म निर्माणमा टिकटक प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।


