काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।
विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो ।
प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायतका जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।
त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । दुवै सबस्टेशन रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदूर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ ।
प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ।


