काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० बेड क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विश्वविद्यालयको औचित्य पुष्टि गर्न र एमबीबीएस अध्ययन–अध्यापन सुरु गर्न अस्पतालको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन्।
उनले गेटा अस्पताल सञ्चालनका लागि व्यावहारिक विकल्प पनि अघि सारेका छन्। प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटामा गाभेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइए अत्यन्त न्यून लागतमा अस्पताल सञ्चालनसँगै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सकिने उनको भनाइ छ।
पौडेलले आफू स्वास्थ्य मन्त्री रहेका बेला गेटा अस्पताल सञ्चालन तथा शैक्षिक कार्यक्रम सुरु गर्न आर्थिक वर्ष २०८२/८३ को बजेटमै आवश्यक स्रोत सुनिश्चित गरिएको उल्लेख गरेका छन्। त्यसबेला केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भए पनि अस्पतालको क्षमता विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा भएको उनले बताएका छन्।
हाल चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै सुरु गरेको सत्याग्रह विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको भन्दै पौडेलले त्यसप्रति समर्थन जनाएका छन्। तर, विभिन्न बहानामा विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता वृद्धि र सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
पूर्वमन्त्री पौडेलले गेटा अस्पताललाई तत्काल ३०० बेड क्षमतामा सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक समाधान भएको उल्लेख गर्दै यसबिना न विश्वविद्यालयको उद्देश्य पूरा हुने, न त एमबीबीएसको पठनपाठन सुरु हुन सक्ने बताएका छन्।


