काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ डेटा, भ्वाइस र एसएमएस प्याक उपलब्ध गराएको छ। कम्पनीका अनुसार अफर मंगलबार (साउन १२) देखि लागू भएको हो।
टेलिकमले पोस्टपेड प्रयोगकर्ताका लागि दुई नयाँ प्याक सार्वजनिक गरेको छ। पोस्टपेड ३७३ प्याकमा ३० दिनका लागि ६ जीबी डेटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ। पोस्टपेड ४९९ प्याकमा १० जीबी डेटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ।
लोकप्रिय ‘सजिलो अनलिमिटेड’ पोस्टपेड प्याकमा पनि थप सुविधा दिइएको छ। रु ६९९ को प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डेटा र २०० एसएमएस उपलब्ध हुनेछ। रु ७९९ को प्याकमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डेटा र २५० एसएमएस तथा रु ९९९ को प्याकमा अनलिमिटेड भ्वाइस, दैनिक १५ जीबीका दरले ४५० जीबी डेटा र ३०० एसएमएस उपलब्ध गराइएको छ।
अधिक डेटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै रु १,४९९ को प्याकमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डेटा र ३५० एसएमएस तथा रु १,९९९ को ‘एक्जिक्युटिभ प्याक’मा अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा र ५०० एसएमएसको सुविधा दिइएको छ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डेटा प्याक थपिएको छ। रु ९९ मा १ दिनका लागि ८ जीबी डेटा र रु १९९ मा ७ दिनका लागि २० जीबी डेटा उपलब्ध हुनेछ।
सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई पनि परिमार्जन गरिएको छ। रु ९९९ को प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डेटा र ३०० एसएमएस तथा रु १,४९९ को प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ५०० जीबी डेटा र ३५० एसएमएस उपलब्ध हुनेछ।
टेलिकमले स्वतः नवीकरण हुने सब्सक्रिप्सन प्याकअन्तर्गत हाल सञ्चालनमा रहेका नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ का अतिरिक्त नमस्ते रिकरिङ ६९९ प्याक पनि उपलब्ध गराएको जनाएको छ। साथै, कर्पोरेट प्रयोगकर्ताका लागि उपलब्ध सीयूजी प्याकमा समेत नयाँ आकर्षक विकल्प थपिएको छ।
कम्पनीले ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा पनि परिवर्तन गरेको छ। साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम रु ३० कायम गरिएको छ। उक्त रकमबाट रु ३० वा सोभन्दा कम मूल्यका डेटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिनेछ। यो सेवा प्रिपेड ग्राहकले मोबाइलबाट *1477# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सक्नेछन्।
टेलिकमका अनुसार यसबाहेक विभिन्न भ्वाइस, डेटा, बन्डल, एड–अन, एसएमएस तथा एफटीटीएच प्याकहरू पनि यथावत उपलब्ध रहनेछन्।
ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत प्याकसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। कम्पनीको वेबसाइटमार्फत पनि अफरबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।


