काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् ।
लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएको विरुद्धमा भरतपुर अस्पतालको उपचार सेवा बन्द गरिएको हो ।
भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी साना अस्पतालमा चार हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन् ।
मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताइन् ।
उपचारमा आएकी रन्जीत तामाङले बहिरङ्ग सेवा बन्द हुँदा आज उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गरिन् ।
भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताए ।
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गरेका छन् । रासस


