काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाको बारेमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले आज साँझ फेसबुक मा स्टाटस लेख्दै यस्तो बताएका छन् उनले भनेका छन् प्रधानमन्त्रीको रूपमा होइन यो देशको नागरिकको रुपमा पनि यो घटनाप्रति दुःखी छु। उनले आफू दुःखी भएको र यो घटनामा सरकारको तर्फबाट न्याय दिने वचनबद्धता पनि व्यक्त गरेका छन्। उनले संयमता अपनाउन शान्ति सद्भाव कायम राख्न नागरिकलाई आह्वान गरेका छन्। उनले लेखेको फेसबुक स्टाटस जस्ताको तस्तै
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो ।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।


