CLI

कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न कंक्रीट निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग आकस्मिक बैठक गर्दै सभापति लामिछानेले हालै सुनसरीमा घटेको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे गम्भीर समीक्षा गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रहवर अन्सारीले सभापति लामिछानेले घटनाको सामूहिक अपनत्व लिँदै केन्द्रमा मात्र नबसी तत्काल आफ्ना क्षेत्रमा खटिन निर्देशन दिएको जानकारी दिए।

बाहिरी तत्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेको उल्लेख गर्दै उनले त्यस किसिमका द्वेषपूर्ण गतिविधिहरूलाई मत्थर पार्न सांसदहरूले राज्यका संयन्त्रसँग समन्वय गरी अग्रसरता लिनुपर्ने बताए।

घटनामा गोली चलेर मानवीय क्षति हुनु अत्यन्तै दुःखद् दुर्घटना भएको बताउँदै सांसद अन्सारीले सामाजिक सद्भाव बिथोलिनु सिंगो देशका लागि साझा समस्या भएको र यसलाई जोगाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सभापति लामिछानेको जोड रहेको प्रस्ट्याए।

Leave Your Comment

Related News