CLI

सामाजिक शान्ति र सहिष्णुता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नु आवश्यक : आईजीपी

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयमता अपनाउन र आपसी सद्भाव कायम राख्न विशेष अपिल गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भिडियो सन्देश जारी गर्दै नेपाली समाजको मुख्य पहिचान नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।

आईजीपी कार्कीले विशेषगरी पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधि देखिएको उल्लेख गर्दै यस्ता कार्यले कुनै पनि व्यक्ति वा समुदायको हित नगर्ने स्पष्ट पारे। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाइ छ।

भिडियो सन्देशमा उनले, “हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,” भन्दै संवेदनशील परिस्थितिमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको बाटो अपनाउन सबैमा आग्रह गरेका छन्।

कार्कीले अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सामाजिक शान्ति र सहिष्णुता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

नेपाल प्रहरीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एक-अर्काको धर्म, संस्कृति र आस्थाप्रति सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरेको छ। साथै राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन तथा शान्ति सुरक्षाको वातावरण कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ।

Leave Your Comment

Related News