काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तराई–मधेस क्षेत्रमा हालै भएका संवेदनशील घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
शुक्रबार प्रेस नोट जारी गर्दै डा. कोइरालाले नेपाल सदियौँदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारीका रूपमा विकसित भएको उल्लेख गर्दै विविधतामा रहेको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
वर्तमान परिस्थितिमा आवेग र उत्तेजनाले कुनै समाधान नदिने उल्लेख गर्दै उनले संयम, विवेक र आपसी संवादलाई नै समस्याको समाधानको आधार बनाउनुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
कोइरालाले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत घृणा फैलाउने तथा समाजलाई विभाजित गर्ने सामग्रीको प्रसार नगर्न अनुरोध गर्दै समाजलाई जोड्ने सकारात्मक सन्देशहरू प्रवाह गर्न सबैसँग अपिल गरेका छन्।
हालैका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते सुरक्षाकर्मी र आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, घाइतेहरूको उपचारमा राज्यले कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।
‘विविधतामा एकता नै हाम्रो शान हो’ भन्दै डा. कोइरालाले सबै नेपालीलाई एकजुट भएर सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध अझ सुदृढ बनाउन आह्वान गरेका छन्।


