CLI

सञ्चार मन्त्रालयले दियो अन्तिम चेतावनी, तार हटाउन आइस्पानले माग्यो थप १५ दिन

काठमाडौं । काठमाडौं उपत्यकामा पोलमा गुजुल्टिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापन गर्न तोकिएको समयसीमाभित्र काम नसकिएपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी दिएको हो।

बैठकमा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र आइस्पानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका चुनौती र समाधानबारे समीक्षा गर्दै तोकिएको समयमा काम नसकिएकोप्रति असन्तुष्टि जनाए।

अव्यवस्थित तार हटाउनु सेवा प्रदायकहरूको कानुनी र व्यावसायिक दायित्व भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अब अनिश्चित रूपमा समय लम्ब्याउन नसकिने र सरकार यो कामलाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको स्पष्ट पारे।

उनले तोकिएको समयमा काम नहुनु आइस्पान र नियामक दूरसञ्चार प्राधिकरण दुवैको असफलता भएको बताउँदै अब परिणाममुखी भएर काम गर्न निर्देशन दिए।

यसैबीच आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौं उपत्यकामा पहिलो चरणमा तोकिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पर्याप्त पूर्वाधार नबनाएको, फिल्डमा खटिने जनशक्तिको अभाव रहेको, तथा प्रहरी र ट्राफिक प्रहरीबाट काममा अवरोध हुने गरेको जस्ता व्यावहारिक समस्या आइस्पानले बैठकमा राखेको छ।

अब धेरै ठाउँमा छरिएर काम गर्नुभन्दा उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरेर छिटो सक्ने रणनीति बनाइएको आइस्पानले जनाएको छ।

गत असार ३१ गते सञ्चारमन्त्री डा. तिमिल्सिना र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा बसेको बैठकमा आइस्पानले साउन १५ गतेभित्र पहिलो चरणको काम सक्ने प्रतिबद्धता जनाएको थियो।

पहिलो चरणअन्तर्गत त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी-टाउन प्लानिङ-गाेंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर-गौशाला–चाबहिल रुटमा तार व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

Leave Your Comment

Related News