काठमाडौं । तराई तथा मधेस क्षेत्रमा पछिल्लो समय सिर्जित असहज परिस्थिति र सामाजिक-साम्प्रदायिक तनावबारे निकास खोज्न प्रधानमन्त्री वालेन्द्र शाहले त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त छलफल मधेसमा घटेका पछिल्ला घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी सामान्य बनाउने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, र गजाला शमिम मिकरानीलगायतको उपस्थिति रहेको छ।
तराई-मधेसमा शान्ति-सुरक्षा र सद्भाव कायम राख्न प्रयासरत रहनुभएका प्रधानमन्त्री शाहले सांसदहरूसँगको संवाद अघि आजै मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि गहन छलफल गरेका थिए।


