CLI

बैंकिङ कसुर मुद्दाका प्रतिवादी प्रधान पक्राउ, साढे ४ करोडभन्दा बढी ठगी आरोप

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ तेज विनायक बस्दै आएका ३४ वर्षीय सन्तोष प्रधान रहेका छन्।

ललितपुर जिल्ला अदालतले २०८२ माघ १३ गते बैंकिङ कसुर मुद्दामा प्रधानलाई २ दिन कैद, १० लाख रुपैयाँ बिगो तथा बिगोको ५ प्रतिशत अर्थात् ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ गौशालाबाट पक्राउ गरेको हो।

पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वयनका लागि २०८३ साउन १५ गते ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रधानविरुद्ध विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दाहरूमा कुल ४ करोड ५२ लाख ८४ हजार ९३६ रुपैयाँ बराबरको बिगो दाबी रहेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरमा १० लाख रुपैयाँ, प्रहरी वृत्त बौद्ध काठमाडौंमा ९ लाख रुपैयाँ, प्रहरी वृत्त नयाँ बानेश्वरमा ५ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर भक्तपुरमा ९ लाख रुपैयाँ तथा प्रहरी वृत्त जनसेवा काठमाडौंमा १ करोड २५ लाख ४२ हजार ९३६ रुपैयाँ र २ करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरका बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रधानमाथि दर्ता भएका अन्य मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रिया सम्बन्धित निकायमार्फत अघि बढाइएको जनाएको छ।

Leave Your Comment

Related News