CLI

राजनीतिलाई सत्ता होइन, जनसेवाको माध्यम बनाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिप्रतिको मोहप्रति चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राजनीति सबैभन्दा ठूलो सार्वजनिक तथा मानव सेवाको क्षेत्र भएको उल्लेख गरे। नागरिक र मानव सेवाका लागि सत्ता तथा शक्तिलाई साधनका रूपमा प्रयोग गर्नुपर्ने भए पनि केवल सत्ता प्राप्तिकै उद्देश्यले राजनीति गर्ने प्रवृत्ति बढ्नु दुःखद् भएको उनको भनाइ थियो।

पार्टीको ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै उनले नेपाली कांग्रेसका संस्थापक नेताहरूले सत्ता वा पदको आकांक्षा नभई विशुद्ध नागरिक सेवाको भावनाका साथ पार्टी स्थापना गरेको बताए।

बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशसँगै पार्टीले नयाँ चुनौती र विषयहरूको सामना गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै थापाले साङ्गठनिक सुदृढीकरणसँगै नीतिगत स्पष्टतालाई पनि समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको मूल मर्म र आत्मालाई आत्मसात् गर्दै रचनात्मक कार्यहरू सञ्चालन गरिरहेको भन्दै प्रशंसा गरे। नियमित साङ्गठनिक गतिविधिसँगै नीतिगत अध्ययन, अनुसन्धान र प्रशिक्षणका कार्यक्रमहरू व्यवस्थित रूपमा अघि बढ्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।

Leave Your Comment

Related News