CLI

सिवाईसी नेपाल लघुवित्तको वार्षिक साधारणसभा साउन ३० गते

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित सो आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षण समिति सिफारिसअनुसार बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि निर्णय गरिनेछ। आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समिति तथा विभिन्न उपसमितिहरूको बैठक भत्ता र अन्य सम्बन्धित खर्च अनुमोदन गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।

यसपटकको साधारणसभाको मुख्य आकर्षण भने मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव हुनेछ। सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियाका लागि आवश्यक समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय तथा अन्य नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्ने, अभिलेखीकरण गर्ने तथा आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन वा परिवर्तन गर्नुपर्ने अवस्था आएमा त्यसका लागि पनि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। त्यसअनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन तथा आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

Leave Your Comment

Related News