काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई छुट्याइएको साधारण सेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ।
केही जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले नियामकीय प्रक्रियाका कारण साधारण सेयर निष्कासनमा ढिलाइ भएपछि स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो।
इप्पानले स्थानीय बासिन्दालाई दिने सेयर प्रिमियम मूल्यमा नभई अंकित मूल्यमै उपलब्ध गराउनुपर्ने बताएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीय समुदायलाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर दिने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य कम्पनीलाई आग्रह गरेको छ।
इप्पानका अनुसार जलविद्युत् आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियान हो। आयोजना निर्माणका क्रममा स्थानीयले जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने तथा निर्माण अवधिका असुविधा व्यहोर्ने भएकाले उनीहरूलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले स्थानीय सेयरको व्यवस्था गरिएको हो।
यदि स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा जारी गरिएमा स्थानीय समुदायको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व घट्ने र आयोजना तथा समुदायबीचको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको भनाइ छ।
अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा स्थानीय बासिन्दा आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्वको भावना बढ्ने र निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद तथा अवरोध न्यूनीकरण हुने इप्पानले जनाएको छ।
संस्थाले स्थानीय समुदायलाई आयोजनाबाट दीर्घकालीन लाभ सुनिश्चित गर्न सकेमा आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत सहयोग पुग्ने उल्लेख गरेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सरकार, नियामक निकाय र प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र समुदायबीचको सम्बन्धलाई ध्यानमा राख्दै स्थानीय सेयर अंकित मूल्यमा नै उपलब्ध गराउने व्यवस्था कायम राख्न आग्रह गरेका छन्।
त्यस्तै, इप्पानले जलविद्युत् कम्पनीहरूको साधारण सेयर निष्कासन प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन नियामक निकायको ध्यानाकर्षण गराएको छ। सेयर निष्कासनमा हुने ढिलाइका कारण आयोजनाले भोगिरहेका समस्या समाधान गर्न समयमै आईपीओ निष्कासन गर्ने प्रणाली विकास गर्न समेत सरकारसँग आग्रह गरेको छ।


