काठमाडौं । नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुबाट हुने वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धतामा छिमेकी मुलुक भारतको वर्चस्व निरन्तर कायमै रहेको छ। उद्योग विभागको विगत ११ आर्थिक वर्ष आव २०७२/७३ देखि गत आव २०८२/८३ को जेठ सम्म को तथ्याङ्क अनुसार सार्क मुलुकहरुबाट ६०९ वटा आयोजनामार्फत कुल ३९ अर्ब ७ करोड ३४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ, जसमा भारत एक्लैको हिस्सा ९०.९९ प्रतिशत अर्थात ३५ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ रहेको छ।
भारतीय लगानीकर्ताहरुले विशेष गरी जलविद्युत्, उत्पादन र सेवा क्षेत्रका ३३१ वटा ठूला परियोजनामा ध्यान केन्द्रित गर्दै प्रतिआयोजना औसत १० करोड ७४ लाख रुपैयाँ लगानी प्रस्ताव गरेका छन्, जसमा आव २०७५/७६ मा हालसम्मकै उच्च ६ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो भने गत आव २०८२/८३ मा पनि ५२ वटा आयोजनामार्फत ४ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ प्रतिबद्धता दर्ता भइसकेको छ।
भारतपछि सार्क क्षेत्रबाट लगानी विस्तार गर्ने दोस्रो ठूलो राष्ट्र बङ्गलादेश बनेको छ, जसको कुल लगानी प्रतिबद्धता ७.०३ प्रतिशत अर्थात २ अर्ब ७४ करोड ४९ लाख रहेको छ। बङ्गलादेशबाट ११ वर्षको अवधिमा २२१ वटा आयोजना दर्ता भएकोमा विशेष गरी पछिल्ला दुई वर्षमा साना तथा मझौला प्रविधि र पर्यटन क्षेत्रमा बङ्गलादेशी लगानीकर्ताहरुको चासो तीव्र रुपमा बढेको देखिन्छ।
जहाँ आव २०८१/८२ मा ६७ वटा र आव २०८२/८३ मा ११३ वटा आयोजना दर्ता भएका छन्, यद्यपि उनीहरुको प्रतिआयोजना औसत लगानी १ करोड २४ लाख रुपैयाँमा सीमित छ।
अर्कातर्फ, अन्य चार सार्क राष्ट्रहरुको उपस्थिति भने तुलनात्मक रुपमा निकै सुस्त र सीमित रहेको छ। समीक्षा अवधिमा श्रीलङ्काबाट १६ वटा परियोजनामार्फत ३९ करोड ९५ लाख रुपैयाँ, पाकिस्तानबाट २७ वटा परियोजनामार्फत २४ करोड २७ लाख रुपैयाँ, भुटानबाट ८ वटा आयोजनामार्फत २ करोड ७० लाख रुपैयाँ र अफगानिस्तानबाट ३ वटा आयोजनामार्फत ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता दर्ता भएको छ भने मालदिभ्सबाट शून्य लगानी प्रतिबद्धता रहेको छ।



