CLI

आज सङ्घीय संसद्का चार समितिको बैठक, राष्ट्र बैंक ऐनदेखि साइबर सुरक्षासम्म छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका चारवटा विषयगत समितिको बैठक आज बस्दैछन्। बैठकमा वित्तीय क्षेत्र, साइबर सुरक्षा, विधि विज्ञान तथा सार्वजनिक सरोकारका विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुने कार्यक्रम छ।

यस्तै, अर्थ समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

अपराह्न २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा दर्ता भएका उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Leave Your Comment

Related News